निसीखोला। बागलुङको निसीखोला गाउँपालिका अन्तर्गत रहेका शिक्षकहरुका लागि २ दिने अन्तराष्ट्रिय शिक्षक तालिम सुरु भएको छ ।
निसिखोला गाउँपालिका र कर्म फ्लाइट्स फाउण्डेशनको संयुक्त आयोजना एवं नेदरल्याण्ड स्थित केपिजेड विश्व विद्यालय र थिओला फाउन्डेसन सँगको सहकार्यमा बुधबारबाट जुग्जाखोलामा उक्त तालिम सुरु भएको हो ।
तालिमबाट शिक्षकहरुलाई आफ्ना विद्यार्थीको सिकाइ अभिरुची र क्षमता पहिचान गरि उनीहरुको आँखामा देखिने जिज्ञासा र खुसीको चम्किलोपनको पहिचान गर्नुका साथै विद्यार्थीको विकासका लागि सहयोगी वातावरण सुनिश्चित गर्ने कुँवरको भनाई छ ।
पालिका भर रहेका ४५ वटै बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको उक्त तालिमको बुधबार प्रमुख अतिथि निसिखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरले समुद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घर्तीले नयाँ ज्ञान र शीप आर्जन गर्न लामो उकाली ओराली पार गरेर तालिममा सहभागी हुन भएका शिक्षकहरुलाई २ दिने तालिमको अवसरलाई भरपुर सदुपयोग गर्दै सिकेका शैक्षणीक बिधि र असल अभ्यासहरु कक्षामा विद्यार्थी सामु पुर्याउन र व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
साथै समाजमा भएका कुरीति र कुसंस्कारलाइ चिर्न शिक्षक आफै रोल मोडेल भएर समाज र विद्यालयलाई रचनात्मक रुपले जोड्दै समाज रुपान्तरणमा योगदान दिन आग्रह समेत गर्नुभयो ।
विशिष्ट अतिथि निसिखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार चन्दले शिक्षा र स्वास्थ्यको क्षेत्रमा कर्मफ्लाइट्सले गरेको साझेदारीकोको प्रशंसा गर्दै नेदरल्याण्ड र नेपालको मौलिक शिक्षण पद्दतिलाई समायोजन गरेर विविधतापूणर् कक्षाका फरक फरक सिकारुलाइ सहज रुपमा सिकाउन सक्ने क्षमताको बिकास गर्न र सिकेका कुराहरुलाइ कक्षामा पुर्याई समग्र शिक्षाको रुपान्तरणको लागि प्रयास गर्न आग्रह गर्नुभयो ।
निसीखोला गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद न्यौपानेले संचालन गरेको कार्यक्रममा सामाजिक बिकास समिति संयोजक चन्द्रसिंह रामजालीको अध्यक्षता रहेको थियो । तालिम संयोजक प्रेम बहादुर कुँवरले तालिमको बारेमा प्रकाश पार्नुभएको थियो भने नेपाल र नेदरल्याण्ड दुवै देशको राष्ट्रिय गान गाइएको थियो ।
बिहिवारसम्म चल्ने तालिममा चम्किला आँखाहरु अभिप्रेरित विद्यार्थीलाई सिकाईका रणनीतिहरु भन्ने विषयमा केन्द्रित रहेर पालिका स्तरिय शिक्षक प्रशिक्षण श्रृङ्खालाकोे तेस्रो मोड्युल सुरु गरिएको कर्म फ्लाईट्स फाउण्डेसनका कार्यक्रम संयोजक प्रेम कुँवरले जानकारी दिनुभयो ।
नेदरल्याण्ड्सको केपीजेड युनिभर्सिटीका प्रमुख सहजकर्ता प्राध्यापक क्रिस्टिना भोल्स्टरम्यानले मुख्य मन्तब्य दिदै विश्वव्यापी चुनौती, युद्ध र निराशाका बीच पनि बालबालिकाका लागि आशावादी भविष्य निर्माण गर्न शिक्षकहरूले खेलेको व्यापक भूमिका र उनीहरूले शैक्षिक सिकाइलाई मार्गदर्शन मात्र नगरेर दया, करुणा र लचिलोपनको नमूनापनि देखिरहेको र यहाँ सबै शिक्षण पेशा गर्ने साझा उद्देश्य र शिक्षाप्रतिको प्रेम, बालबालिकाप्रतिको प्रेम र सिकाइप्रतिको प्रेमले हामी सबैलाई जोडेको कुरा बताउनुभयो ।



Comments
Leave a Reply