राष्ट्रिय

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो!

मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ नगरपालिका-४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आउनुभएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न छन् । १६ वर्षको कलिलो उमेरमा रोजगारीका लागि भारत जानुभएका सन्तोष त्यहाँबाट फर्केर पुर्खाको पेसामा लागेको र यसमै सन्तुष्ट रहेको बताउँछन् ।
“भारतमा लामो समय काम गर्दासमेत भनेजस्तो कमाउन सकिएन । हाल नेपालमै काम गरिरहेको छु । आफ्ना पुर्खाको आरन पेसा अगाल्दा पैसाभन्दा बढी सन्तुष्टि मिलिरहेको छ”, उनले भने । बागलुङ नगरपालिका–९ तित्याङ घर भएका विश्वकर्माले आरन चलाएर राम्रो आम्दानी गर्दै आएको बताए । उनले भारतमा १० वर्ष सिल्टेको भाडा बनाउन सिकेको कामले स्वदेशमा कमाइ गरेको बताए ।
सन्तोषले उत्पादन गरेका हसिया, बाउसो, खुकुरीलगायत सामग्रीका लागि बजारको अभाव नभएको बताए । फलाम, तामा र सिल्टेका विभिन्न सामग्री उत्पादन गर्न सके बजारको समस्या नरहेको उनको अनुभव छ । आफूले उत्पादन गरेका अधिकांश भाडा तथा हात हतियार आरनबाटै बिक्री हुने गरेको र डाडु, पन्यु, दाब, खुकुरी, बन्चरो, हँसिया बढी मात्रमा बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिए ।
आफ्नो उत्पादनबारे स्थानीय सरकारलाई भने खासै चासो नभएको विश्वकर्माको गुनासो छ । उनले परम्परागत पेसालाई संरक्षण गर्न र यसतर्फ युवाहरूलाई आकर्षित गर्न सरकारको सहयोग आवश्यक रहेको बताए । पछिल्लो समय काम गर्ने मान्छे नपाइदा समस्या भएको र पुस्तान्तरणको अभावमा पेसा लोप हुने अवस्थामा पुगेकामा विश्वकर्माले चिन्ता व्यक्त गरे ।
“अहिले काम गर्ने मान्छे पाइँदैनन्, पछिल्लो पुस्तालाई विदेशकै मोह छ, विदेश नै जाने, धन कमाउने भन्छन् । पुख्र्यौली पेसा संरक्षणमा स्थानीय सरकारले ध्यान दिने, पेसालाई आधुनिकरण गर्ने र प्रोत्साहन गर्ने हो भने यतै राम्रो गर्न सकिन्छ”, उनले  भने। रास

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply