काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माघ ११ र १२ गते काठमाडौंमा केन्द्रीय कार्यसमिति बैठक डाकेको छ । साङ्गठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक डाकिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।उनका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँगको सहकार्यलगायत विषयमा जानकारी गराउने छन् । पार्टीको भावी कार्यदिशा, रणनीतिलगायत विविध विषयमा छलफल हुने बैठकमा अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन समेत प्रस्तुत गर्ने कार्यसूची छ । सचिवालयसम्बन्धी प्रतिवेदनका साथै सङ्गठन विभाग र प्रशिक्षण विभागका प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूबाट प्रदेशका गतिविधि समेटिएका प्रतिवेदन समेत बैठकमा प्रस्तुत गरिने तालिका रहेको नेता श्रेष्ठले बताए । वडा तहबाट सङ्गठन गठन र पुनःगठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा हुने बैठकमा तोकिएको भूगोल केन्द्रित जिम्मेवारीमा नजाने नेताको जिम्मेवारी हेरफेर गरिने समेत नेता श्रेष्ठले जानकारी दिए ।
Comments
Leave a Reply