राजनीति

माओवादीबाट यी हुन् प्रतिनिधिसभाका सम्भावित उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अधिकांश पुरानै अनुहार दोहोरिने देखिएको छ । माओवादीले ४९ सिट पाउनेगरी सत्ता गठबन्धनबाट ​भागबण्डालाई अन्तिम रुप दिने तयारी भइरहेको छ । यद्यपि माओवादी केन्द्रले थप केही सिटमा दाबी गरिरहेको छ । माओवादीले पाउनुपर्ने क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समेत दाबी गरेपछि फाइनल सहमति हुन नसकेको कार्यदलका एक सदस्यले बताए । माओवादीको भागबण्डामा परेका अधिकांश क्षेत्रमा नयाँ अनुहारले प्राथमिकता पाउने कम सम्भावना देखिएको छ । २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच तालमेल हुँदा माओवादीले ५९ क्षेत्रमा उम्मेदवारी दिएको थियो । तीमध्ये ३६ सिटमा माओवादीले जित हासिल गरेको थियो । हुम्लाबाट स्वतन्त्र उठेका छक्कबहादुर लामा समेत माओवादीमै जोडिएपछि प्रत्यक्षमा माओवादीले ३७ सिट जितेको थियो । अहिले गठबन्धनमा जम्मा ४९ सिट पाउनेगरी छलफल चलेको र माओवादीले पाउनैपर्ने एकाध क्षेत्रमा अन्य दलले पनि दाबी गरेकाले फाइनल सहमति हुन नसकेको स्रोतको भनाइ छ । माओवादीले भाग गठबन्धनबाट पाउने सिटअनुसार ताप्लेजुङबाट ख्यालप्रसाद बुढाथोकी, झापा–१ बाट सुरेन्द्रकुमार कार्की, झापा–५ बाट रन्जित तामाङ, भोजपुरबाट सुदन किराती, मोरङ–४ बाट अमनलाल मोदी, मोरङ–५ बाट शिवकुमार मण्डल, उदयपुर–२ बाट सुरेन्द्रकुमार राई, सोलुखुम्बुबाट हेमकुमार राईलाई उम्मेदवार बनाउने सम्भावना छ । यीमध्ये झापा–५ का सम्भावित उम्मेदवार तामाङमात्रै नयाँ अनुहार हुन् । अरु सबै यसअघि निर्वाचित भएका सांसद हुन् ।खोटाङमा माओवादीले दाबी गरेको क्षेत्रमा एकीकृत समाजवादीले पनि दाबी गरेकाले गठबन्धनभित्र कुन दलले उम्मेदवारी दिनेभन्ने सहमति भइसकेको छैन । खोटाङबाट भाग पाए माओवादीले पोलिटब्यूरो सदस्य समिता कार्की, रामकुमार राई र दुर्गाजयन्ती राईमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । यस्तै माओवादीको भागमा परेको सिरहा–३ बाट सुरेशचन्द्र दास, धनुषा–१ बाट मातृकाप्रसाद यादव, महोत्तरी–१ बाट गिरिराजमणि पोखरेल, सर्लाही–३ बाट अच्युतम काफ्ले वा रामेश्वर राय यादवमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी छ । सर्लाही–३ मा यादव सामानुपातिकमा बस्ने खोजेकाले काफ्ले नै उम्मेदवार हुने सम्भावना बढी छ । सिन्धुली–२ बाट हरिबोल गजुरेल र राजन दाहालले दाबी गरेका छन् । अन्तिममा गजुरेल नै उम्मेदवार हुने देखिएको छ । नुवाकोट–१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक–१ बाट अग्निप्रसाद सापकोटा, चितवन–३ बाट पुष्पकमल दाहाल प्रचण्ड नै उम्मेदवार हुने निश्चितजस्तै छ । यो पनि गठबन्धनमा कांग्रेसले पाएको ८७ सिटमा यी हुन् सम्भावित उम्मेदवार ​यस्तै काभ्रेबाट गंगाबहादुर तामाङ र सूर्यमान दोङमध्ये एक जना, काठमाडौं–२ बाट ओनसरी घर्ती वा कुलमान घिसिङमध्ये एक जना उम्मेदवार हुने चर्चा छ । काठमाडौं–९ बाट हितमान शाक्यमात्रै दाबेदार भएकाले उनी नै उम्मेदवार हुने पक्का छ । यस्तै माओवादीले दोलखा र रामेछापमध्ये एक क्षेत्र आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । यदि दोलखाबाट उठ्नु परेमा गंगा कार्की ‘विश्व’ र रामेछापबाट युवराज चौलागाई र श्यामकुमार श्रेष्ठमध्ये एक जना उम्मेदवार हुनेछन् । गठबन्धनमा सहमति हुन बाँकी रहेकाले दोलखा र रामेछापका बारेमा अहिले नै भन्न सक्ने अवस्था छैन । धादिङ–१ मा एकीकृत समाजवादीले समेत दाबी गरेकाले माओवादीले पाउने कि नपाउने भन्ने टुङ्गो लागिसकेको छैन । गोरखा–२ बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित ४ जनाको नाम सिफारिस भएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको समेत सोही क्षेत्र भएको र उनको दल यो निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिह्न लिएर मैदानमा उत्रिने भएकाले त्यहाँबाट को उम्मेदवार हुने भन्ने टुङ्गो लागिसकेको छैन । लमजुङबाट देवप्रसाद गुरुङ, बाग्लुङ–२ बाट देवेन्द्र पौडेल उम्मेदवार हुने सम्भावना छ । माओवादीले कास्की–१ वा कास्की–३ मध्ये एउटा सिट आफूले पाउनुपर्ने दाबी गरे पनि गठबन्धनमा सहमति भइसकेको छैन । यस्तै कपिलबस्तु–१ बाट चक्रपाणि खनाल उम्मेदवार भन्ने लगभग पक्का छ भने रुकुम पूर्वबाट गणेशमान पुन, कमला रोका, पूर्ण घर्तीसहित ५ जनाको नाम सिफारिस भएको छ । तीमध्येबाटै एक जना उम्मेदवार बन्ने छन् । रोल्पाबाट वर्षमान पुन, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहित ६ जना नेताको नाम सिफारिस भएको छ । अन्तिममा वर्षमान पुन नै त्यहाँबाट उम्मेदवार हुने देखिएको छ । दाङ–२ कृष्णबहादुर महराले छोडेपछि रेखा शर्मा उम्मेदवार हुने देखिएको छ । बाँके–१ बाट महेश्वरजंग गहतराज, बर्दिया–२ बाट शन्तकुमार थारु उम्मेदवार हुने निश्चितजस्तै छ । रुपन्देही–१ र नवलपरासी–१ क्रमशः जसपा र कांग्रेसले दाबी गरेकाले सहमति जुट्न बाँकी छ । यस्तै सल्यान माओवादीको भागमा परे पनि टेकबहादुर बस्नेत र रमेश मल्लको नाम सिफारिस भएको छ । अन्तिममा बस्नेत नै उम्मेदवार हुने देखिएको छ । जुम्लाबाट यसअघि निर्वाचित गजेन्द्र महतले उम्मेदवार नहुने निर्णय गरिसकेकाले नरेश भण्डारी उम्मेदवार बन्ने सम्भावना रहेको बताइन्छ । जाजरकोटबाट शक्तिबहादुर बस्नेत उम्मेदवार हुने निश्चितजस्तै छ भने हुम्लाबाट छक्कबहादुर लामा नउठ्ने भएपछि प्रेम शाही र छिरिङदोजेन लामाको नाम जिल्लाबाट सिफारिस भएको छ । शाही र लामामध्ये एक जना उम्मेदवार हुने कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् । रुकुम पश्चिमबाट जनार्दन शर्मा, कञ्चनपुर–१ बाट बीना मगर उम्मेदवार हुने निश्चित छ । यस्तै कैलाली–३ बाट निर्माण चौधरी, विनितादेवी चौधरी र कृष्ण चौधरीको नाम सिफारिस भएको सुदूरश्चिम प्रदेश कमिटी अध्यक्ष हरि चौधरीले बताए । त्यहाँ ती तीन जनामध्ये एक जना उम्मेदवार हुने उनको भनाइ छ । कैलाली–२ बाट भगतबहादुर बडुवाल, लालबहादुर सोडारी, हेमन्त बढुलाको नाम सिफारिस भएको छ । तीमध्ये भगतबहादुर बडुुवाल उम्मेदवार हुने सम्भावना देखिएको छ । बैतडीबाट नरेन्द्र कुँवरको मात्रै नाम सिफारिस भएकाले उनी नै उठ्ने निश्चितजस्तै छ । माओवादीले अछाम–१ मा दाबी गरे पनि एकीकृत समाजवादीले छोड्न मानेको छैन ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply