राष्ट्रिय

प्रेममा छँदा तस्वीर साटासाट, सम्बन्ध बिग्रिएपछि तनाव

अनलाइनबाट यसरी हिंसामा पर्दैछन् किशोरीहरु कुमारीपाटी, ललितपुरकी १६ वर्षीया सुमना (नाम परिवर्तन) लाई चार महिनाअघि सामाजिक सञ्जाल फेसबुकमा रमिज राजाको ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । भारतको मोतीहारी घर भएका राजा बुबासँग काठमाडौंमा बस्दै आएका थिए । फेसबुक वालको ‘पिपल यू मे नो’मा सुमनाको आकर्षक तस्वीर देखेपछि उनले साथी बन्ने प्रस्ताव पठाएका थिए । सुमनाले पनि राजाको रिक्वेस्ट देख्नेवित्तिकै ‘एसेप्ट’ गरिदिएकी थिइन् । उनलाई जति धेरै साथी भए, त्यति धेरै लाइक, कमेन्ट आउने लोभ थियो । नभन्दै राजाले पनि सुमनाको अधिकांश पोस्टहरुमा लाइक गरिदिन्थे । बेलाबेला कमेन्टमा लेखिदिन्थे, ‘लुकिङ ब्यूटिफूल ।’ विस्तारै सुमनाले पनि राजाको तस्वीरहरुमा लाइक फर्काउन थालिन् । राजाले ‘हेलो, हाई’ भन्दै कुराकानी अघि बढाउन थाले । ‘सुरुमा सामान्य कुराकानी मात्र भइरहेको थियो, साथी भएपछि उनले भेट्न कर गरेपछि एक दुईपटक भेटेका थियौं’, सुमनाले प्रहरीसमक्ष भनेकी छन्, ‘भेट हुँदा दुईजनाले तस्वीर पनि खिचेका थियौं ।’ कक्षा ९ मा पढ्ने सुमना विदाको दिन शनिबार राजालाई भेट्न बोलाउँथिन् । दाजु र आमासँग बस्दै आएकी उनी राजाको कुरा सुनेर मख्ख पर्थिन् । राजासँग दुःख, सुखका कुरा साटासाट गर्थिन् । त्यही क्रममा दुईबीचको सम्बन्ध प्रेममा परिणत भयो ।   तर लामो समय चाहिँ टिकेन । झण्डै दुई महिनापछि सुमना राजालाई ब्लक गर्ने अवस्थामा पुगिन् । राजालाई त्यो स्वीकार्य भएन ।   ‘सामाजिक सञ्जालबाट ब्लक गरेपछि उनले भाइबरमार्फत गरेका अडियो सम्वाद र अश्लिल भिडियो देखाएर ब्ल्याकमेल गर्न थालेको पाइएको छ’, नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्याल भन्छन्, ‘नाबालिकाको तस्वीर इडिट गरेर बनाएको अश्लिल भिडियो पनि पठाएर धम्की दिएको पाइएको छ ।’   अनुसन्धानमा संलग्न अर्का एक अधिकृतका भनाइमा दुईबीच सुमधुर सम्बन्ध भएका बेला नाबालिकाले आफ्नो अश्लिल भिडियो राजालाई पठाएकी थिइन् । ‘उनले भिडियो पठाउन दबाव दिएका रहेछन्, राम्रो सम्बन्ध हुँदा धेरै नसोची उनले पनि पठाइछन्’, ती अधिकृतले भने, ‘पछि त्यही देखाएर ब्ल्याकमेल भएको पाइएको छ ।’   धम्क्याउँदै भेट्न बोलाउन थालेपछि पीडितले आफन्तलाई जानकारी गराएकी थिइन् । र, प्रहरीसमक्ष यो घटना पुगेको एसएसपी अर्याल बताउँछन् । ‘प्रहरीमा जाहेरी परेपछि राजालाई १३ भदौमा पक्राउ गरेर अनुसन्धान थालेका थियौं, अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ’, उनले भने ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply