पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज (शुक्रवार) बाट सेयर विक्री खुला गरेको छ। कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको दरमा ५६ लाख ६ हजार तीन सय ९० कित्ता सेयर विक्री गर्ने भएको हो। यसमध्ये तीन प्रतिशत सेयर भने कम्पनीले कर्मचारीको लागि र पाँच प्रतिशत सेयर सामूहिक लगानी कोषहरूको लागि छुट्याएको छ। सर्वसाधारणले न्युनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन्।
केही समयअघि स्थानीयको लागि कम्पनीले १० प्रतिशत (३२ लाख कित्ता) सेयर जारी गरेकोमा सही तरिकाले आवेदन दिएकाहरूलाई २३ लाख ९३ हजार ६ सय १० कित्ता मात्रै वितरण गरिएको हो। कम्पनीको सेयर छिटोमा कात्तिक २९ सम्म खुला रहनेछ। सो अवधिमा बिक्री नभए मंसिर ९ गतेसम्म विक्री खुला हुनेछ। सानिमा क्यापिटल कम्पनीको विक्री प्रबन्धक हो।
कम्पनीले केयर रेटिङ नेपालबाट डबल बी रेटिङ पाएको छ। वित्तीय दायित्वहरू समयमै पुरा गर्न सक्ने क्षमताको आधारमा यस्तो रेटिङ गरिएको हुन्छ। कम्पनीले पाएको रेटिङले यस्तो क्षमता मध्यम रहेको संकेत गर्छ।
कम्पनीले इलाममा ४.९६ मेगावाटको अप्पर पुवा २ आयोजना बनाइरहेको छ। पछिल्लो संशोधित लागत मूल्यांकन अनुसार यो आयोजना ९६ करोड २६ लाख रूपैयाँमा बन्ने भएको छ। प्रतिमेगावाट लागत १९ करोड ४० लाख रहेको छ। ६४ लाख रूपैयाँ सेयर पुँजीबाट जुट्ने र सोही रकम बराबरको ऋणको लागि सम्झौता भइसकेको छ। आयोजना देखि अप्पर पुवा १ को सबस्टेशनसम्म आवश्यक पर्नेमध्ये करिब ६० प्रतिशत पोल ठड्याइसकिएको छ। आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ।
आयोजनाबाट उत्पादित विद्युत् विक्रीको लागि नेपाल विद्युत् प्राधिकरणसँग सन् २०१७ मै सम्झौता भएको छ। आगामी ३० वर्षको लागि खरिद सम्झौता भएको हो। टेक अर पे मोडालिटिमा सम्झौता भएको हो। अर्थात् प्राधिकरणले सम्झौता अनुसारको विद्युत् खरिद गर्न नसक्दा कम्पनीलाई सोही बराबरको क्षतिपुर्ति भुक्तानी दिनुपर्छ। कम्पनीले भनिएको समयमा आयोजना निर्माण सकेन भने प्राधिकरणलाई पाँच प्रतिशतबराबर जरिवाना तिर्नुपर्छ। यस्तो जरिवाना कम्पनीले विद्युत् विक्री थालेसँगै प्राधिकरणले तिर्नपर्ने शुल्कबाट कटौती गरिने गरि सम्झौता भएको छ।
वर्षायाममा ४.८० रूपैयाँमा र सुख्खा यामामा ८.४० रूपैयाँ प्रतिकिलोवाटमा विद्युत् खरिद गर्ने सम्झौता भएको हो।
Comments
Leave a Reply