राजनीति

डडेल्धुरामा मलाई चुनाव प्रचार गर्न रोके, अहिले छाडिदिए: सागर ढकाल

मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले चुनाव प्रचार गर्न विभिन्न ठाउँमा प्रहरी, प्रशासनले आफूलाई रोक्ने गरेको बताएका छन्।

 

चुनाव प्रचारका क्रममा सोमबार डडेल्धुरा बसपार्कलगायत ठाउँमा प्रहरीले रोकेकोमा आफू र स्थानीयले विरोध गरेपछि प्रशासन पछि हटेको उनको भनाइ छ।

 

‘चुनाव प्रचार गर्न मलाई डडेल्धुरा प्रशासनले विभिन्न ठाउँमा अवरोध गरेका छन्। पहिले मलाई सिडिओले राष्ट्रिय झण्डा ओढेर चुनाव प्रचारमा नजाऊ भनेका थिए। पछि कानून हेरेपछि राष्ट्रिय झण्डा लिन पाइन्छ भनेर बोक्न दिए,’ ढकालले सेतोपाटीसँग भने, ‘सोमबार माइकिङ गर्न प्रहरीले रोक्यो, विरोधपछि माइकिङ गरी प्रचार गर्न दिएका छन्।’

 

मोटरसाइकलमा चढेर चुनाव प्रचारका लागि माइकिङ गर्दैगर्दा ढकाललाई प्रहरीले रोकेको थियो। प्रहरीले आचारसंहिता उल्लघन हुने बताउँदै ढकाललाई माइकिङ नगर्न भनेको थियो। ‘डाँडामा गएर माइकिङ नगर्न पनि प्रहरी, प्रशासनले भन्दै आएको छ,’ उनले भने।

 

सोमबार साँझ स्थानीयसहितले प्रहरी प्रशासनको विरोध गरेपछि आफूलाई चुनाव प्रचार गर्न दिइएको ढकाल बताउँछन्। सोमबार अपरान्ह ढकाल र उनीपक्ष तथा प्रहरीबीच विवाद पनि भएको थियो।

 

ढकाल पक्षले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवार भएको डडेल्धुरामा आचारसंहिता विपरीत घरदेखि गाडीहरूमा चुनाव चिन्ह रूखअंकित झण्डा जतासुकै राखिएकोले हटाउन आग्रह गरेका थिए। आचारसंहिताको कारबाही गर्ने भए रूखअंकित झण्डा पहिले हटाउन ढकाल पक्षका युवाहरूले प्रहरीलाई भनिरहेको भिडिओ पनि सार्वजनिक भएको छ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply