मनोरंजन

आन्तरिक पर्यटनले जुर्मुराउँदै सिरानडाँडा

हरिया डाँडापाखा, ग्रामीण जीवनशैली, गुरूङ र तामाङ संस्कृति, चिया बगान, आत्मीय गाउँले र अर्गानिक खानपान सिरान डाँडाका विशेषता हुन्। आकाश उघ्रिएका बेला गाउँबाट बुद्ध, हिमालचुली र मनास्लु हिमालको दर्शन पाइन्छ। साथमा सूर्योदय र सूर्यास्तको मिठो दृश्य त छँदैछ। गर्मी मौसममा पनि ज्याकेट लगाउनुपर्ने र सुत्दा सिरक ओढ्नुपर्ने गन्तव्य हो– सिरानडाँडा, गोरखा। अजिरकोट गाउँपालिका–४, गोरखाको सिरानडाँडा (१,९९० मिटर) प्रकृतिको अतुलनीय उपहार हो। मनसुनी याममा सिरानडाँडा छिनमै भुइँकुहिरोमा लुकामारी खेल्छ त छिनमै  घामको उज्यालोमा मुस्कुराउँछ। बेलाबेलामा पानी पनि बर्सिरहन्छ। विचित्रको मौसमले सबैलाई लठ्ठै बनाउँछ। पछिल्लो समय पर्यटकको रोजाइमा परेको सिरान डाँडा नम्की बजार स्थानीय पर्यटनको हबको रूपमा विकसित हुँदै गएको छ। मोटर बाटोको सुविधाले गर्दा चिसो लेकको हावामा रम्न चाहने जो कोही यहाँ सजिलै र चाहेको बेला पुग्न सक्छन्। स्थानीय गोरखा बजार, पालुङटार, दमौली, डुम्रे, मुग्लिन, नारायणगढ र दमौलीका बासिन्दाले गर्मी छल्ने, विकेण्ड मनाउने र परिवारसँग रमाउने रोमाण्टिक गन्तव्यका रुपमा सिरानडाँडामा काठमाडौंदेखिका पर्यटकसमेत हयाङ्आउट हुन आउने गरेका छन्। सिरानडाँडा मुन्तिरको नम्कि गाउँमा होमस्टे सुविधा छ। अझै तल भच्चेकमा पर्यटकीय सुविधाका होटल पनि छन्। सिरानडाँडामै पनि होटल तथा रिसोर्ट खुलिसकेका छन्। गुरूङ र तामाङ समुदायको बाहुल्य भएको यो ठाउँमा स्थानीय संस्कृति, रहनसहन र खानपानमा रमाउन सकिन्छ।  चौबिसे शासनकालको एउटा कोटगढीसमेत छ। यहाँका सिरानडाँडा, ओखलढुंगा र घट्टाटोलमा तामाङका १ सय ११ घर धुरी छन्। शेर्पा समुदायको पनि बसोबास छ। गाउँमा मकै, कोदो, जौ, गहुँ, तोरी, आलु, काउली, साग, मुलालगायत फलाइन्छ। त्यसैगरि बाख्रा, कुखुरा र भैंसीपालन पनि गरिन्छ। ग्रामीण जीवनशैलीको सुवास पाइने गाउँमा हिमाली समाज गुम्बा, नाप्रे मन्दिरलगायत धार्मिक तीर्थ पनि छन्। अर्को कुरा, सिरानडाँडा हुँदै निम्चेपोखरी, नागेपोखरी, दूधपोखरी र नारदपोखरी पदयात्रा गर्न सकिन्छ। भच्चेक बजारसँगै सिरान डाँडासम्मका स्थानीयलाई समेत राम्रो आम्दानीको स्रोत पर्यटन देखाइदिएको छ। डाँडासम्मै सडक पिच भएकाले यात्रा गर्न सजिलो छ। राम्रो प्रचारप्रसार हुन सकेमा सिरानडाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्नेछ। त्यसका लागि यहाँका पर्यटन व्यवसायी र गाउँपालिकाको नेतृत्वले पहल गर्नुपर्ने देखिन्छ।
तपाईं पनि रोमाण्टिक हिलस्टेशन ‘सिरानडाँडा’ जाने कि?  

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply